बाढी–पहिरोको वितण्डा: ३ मुख्य सडक पूर्ण ठप्प, ६ खण्डमा आंशिक अवरोध

काठमाडौँ, २० साउन । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न महत्वपूर्ण सडकखण्डहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार हाल ३ वटा सडकखण्ड पूर्ण रूपमा र ६ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका छन् । यद्यपि, पहिरो पन्छाएपछि अवरुद्ध भएकामध्ये २४ वटा सडकखण्ड भने पुनः सञ्चालनमा आएको विभागले जनाएको छ ।

बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै विपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली खण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

मेची राजमार्ग: इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएका कारण राजमार्ग पूर्ण रूपमा बन्द छ ।

दोलखाको लामोसाँघु–रामेछाप सडकखण्डअन्तर्गत तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी नदीले सडक कटान गरेपछि यातायात ठप्प भएको छ । हाल खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग सञ्चालनमा ल्याएर सवारी पास गराउने प्रयास भइरहेको छ ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था छिनछिनमा परिवर्तन भइरहेकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा सडक विभागसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रा गर्दा उच्च सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा जथाभाबी सवारी नचलाउन समेत प्रहरीले चेतावनी दिएको छ ।