नेपालव्दारा ताइपेईमाथि दोहोरो जित

maitrinews

 

कुवेत सिटी । अञ्जन विष्ट र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठको गोलमा नेपालले विश्वकप २०२२रएसियन कप २०२३ छनोटमा बिहीबार चाइनिज ताइपेर्ईमाथि २–० को जित हात पारेको छ । ताइवानी टिमविरुद्ध दुवै खेल जितेसँगै नेपालले समूह ‘बी’ मा कम्तीमा चौथो स्थान पक्का गर्नेछ ।

कुवेत सिटीस्थित जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा अञ्जनले पेनाल्टीमा गोल गर्दै तेस्रो मिनेटमै नेपाललाई अग्रता दिलाए । ताइवानी डिफेन्डर चेन हाओले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । त्यसमा १९ वर्षीय अञ्जनको प्रहार सटिक रह्यो र नेपालले १–० को अग्रता लियो । अञ्जनको चौथो अन्तर्राष्ट्रिय गोल हो यो ।

नेपालले यही विश्वकप छनोटको ताइपेर्ईमा भएको खेलमा पनि २–० कै जित हात पारेको थियो । त्यसमा दुवै गोल अञ्जनले गरेका थिए । गत शनिबार बासरामा इराकविरुद्ध ६–२ ले हारेको खेलमा नेपालको पहिलो गोल पनि उनकै नाममा रहेको छ । कुवेतको चर्को गर्मीमा भएको खेलमा बिहीबार अञ्जनले २४ औं मिनेटमा दुई डिफेन्सलाई छक्याउँदै राम्रो अवसर सिर्जना गरेका थिए । तर, त्यसमा उनको प्रहार सिधै गोलकिपर सिह सिन–आनको हातमा पुग्यो ।

दोस्रो हाफमा ताइवानी टिमको वर्चस्व रह्यो । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर पनि उसले गोलको सहज अवसर सिर्जना गर्न भने सकेन । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मनीष डाँगीले ८० औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । त्यो अवसरमा मनीषले नजिकै अनमार्क रहेका सहकर्मीलाई दिएको भए गोलको राम्रो अवसर मिल्न सक्थ्यो । मनीषले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालको दोस्रो गोल गरेका थिए, जुन निकै उत्कृष्ट थियो ।

केही सुस्त बनेको खेलको ८१ औं मिनेटमा नवयुगले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले सुमन अर्यालको क्रसमा सिक्स यार्ड ठीकबाहिरबाट फस्टबार च्याप्दै प्रहार गरेको बलले जाली चुमेपछि नेपालको जित निश्चित भएको थियो । उनी ६९ औं मिनेटमा मात्रै सुनील बलको स्थानमा मैदान प्रवेश गरेका थिए । यो उनको सातौं अन्तर्राष्ट्रिय गोल हो ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको औपचारिक प्रतियोगितामा पहिलो खेल पनि हो यो । यसअघि उनले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा मात्रै टिम सम्हालेका थिए । विश्वकप छनोटका अघिल्ला ५ खेलमा नेपाली टिम स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेका थिए । कोरोना भाइरसको महामारीका कारण कालिन स्विडनमै रहेपछि टिम सम्हाल्ने अवसर बालगोपाल महर्जनले पाएका थिए । उनले चैतमा नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाए । तर, फिफाको प्रतियोगितामा प्रो लाइसेन्सवाला प्रशिक्षक अनिवार्य गरिएपछि एन्फाले अब्दुल्लाहलाई भित्र्याएको हो ।

ताइवानविरुद्ध तेस्रो खेलमा नेपालले हात पारेको यो दोस्रो जित हो । जुन, २०१९ मा ताइवानमै भएको मैत्रीपूर्ण खेल भने १–१ मा टुंगिएको थियो । चाइनिज सुपर लिग खेलिरहेका चेन पो–लियाङ, चीनकै लिग वान ९दोस्रो डिभिजन० क्लबमा अबद्ध वेन चि–हाओ र माल्टाको प्रिमियर लिगका विल डन्किनबिना नै ताइवान छनोट खेल्न कुवेत पुगेको थियो ।

कोभिड–१९ को प्रोटोकलका कारण ताइवान प्रिमियर लिगकै केही खेलाडीले कुवेत यात्रालाई अस्वीकार गरेका थिए । त्यसैले प्रशिक्षक भोम का–नुमले नयाँ र युवा खेलाडीलाई अवसर दिएका थिए । बेलायती प्रशिक्षक लुइस लंकास्टरलाई बर्खास्त भएपछि उनले टिम सम्हालेका थिए र त्यसयता ताइवान पहिलोपल्ट मैदानमा उत्रिएको हो । ताइवान कोभिडका कारण १९ महिनायता पहिलोपल्ट मैदानमा फर्किएको हो ।

फिफा वरीयतामा ३० स्थानमाथिको ताइवानविरुद्ध दोस्रो जितसँगै नेपालले ६ खेलबाट समूहमा ६ अंक बनाएको छ । यसवीच नेपालले चार खेल हारेको छ । पुछारमा रहेको ताइवानले खेलेको सबै ६ खेल हारेको छ । जोर्डन र कुवेतले ५–५ खेलबाट १०–१० अंक बनाएका छन् भने शीर्षस्थानमा रहेको अस्ट्रेलियाले शतप्रतिशत जितसहित १२ अंक जोडेको छ । नेपालले अब जोर्डनविरुद्ध जेठ २४ र अस्ट्रेलियाविरुद्ध जेठ २८ मा खेल्नेछ ।