फेरि सुपरसोनिक हवाई उडान

maitrinews

अमेरिका । अमेरिकाको युनाइटेड वायुसेवाले १५ वटा सुपरसोनिक विमान किन्ने योजना रहेको भन्दै सन् २०२९ मा हवाई उडानमा आवाजभन्दा छिटो गति फर्काउने घोषणा गरेको छ।

सन् २००३ मा ब्रिटिश वायुसेवा र एअर फ्रान्सले कन्कर्ड विमान उडाउन छोडेपछि सुपरसोनिक हवाई यात्रा टुङ्गिएको थियो।

युनाइटेडले किन्ने भनेको ओभरटर विमान अमेरिकाको बुम नामक कम्पनीले निर्माण गर्ने छ।

बुमले अहिलेसम्म विमानको परीक्षण उडान गरेको छैन।

युनाइटेडको किन्ने सहमति सो विमानले सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेको अवस्थामा मात्रै लागु हुन्छ।

विमानको गति आवाजको गतिभन्दा छिटो भएमा त्यसलाई सुपरसोनिक उडान भनिन्छ।

यसको अर्थ ६० हजार फिटको उचाइमा १,०६० किलोमिटर प्रतिघण्टाभन्दा छिटो यात्रा गर्नु हो।

सामान्यतया विमानहरू सो उचाइमा ९०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्छन् तर बुमको जहाज १,१२२ किलोमिटर प्रतिघण्टा उड्ने अपेक्षा गरिएको छ।

त्यो गतिमा न्यूयोर्कबाट लन्डनसम्मको उडान समय आधा घट्ने बताइएको छ।

बुमका अनुसार त्यो उडानको समय ३.५ घण्टा हुनेछ जुन अहिलेको उडान समयभन्दा तीन घण्टा कम हो।

सन् १९७६ मा उड्न सुरु गरेको कन्कर्डको गति त्योभन्दा बढी अर्थात् २,१८० किलोमिटर प्रतिघण्टा थियो।
कन्कर्ड विमान सन् २००३ देखि सञ्चालनमा छैन

सुपरसोनिक उडानका दुई प्रमुख चुनौती भनेका आवाज र प्रदूषण हो।

आवाजभन्दा छिटो गतिमा उड्दा जमिनमा सोनिक बुम भनिने ठूलो विस्फोटको जस्तो आवाज सुनिन्छ। कम्पनीको नाम त्यसकै आधारमा राखिएको हो।

यस कारण ती विमान सबै क्षेत्रमा उड्न सक्दैनन्। सामान्यतया ती विमानले जमिनमाथि रहँदा मानिसहरूलाई ध्यानमा राखी कम गतिमा उड्नु पर्छ।

बुमले आफ्नो विमान उडान सुरु गर्दा, अवतरण गर्दा र जमिनमाथि हुँदा अन्य विमानभन्दा ठूलो आवाज ननिकाल्ने बताएको छ।
उसले कन्कर्डको भन्दा मधुरो सोनिक बुमका लागि प्रयास गरिरहेको बताएको छ।

अर्को ठूलो समस्या भनेको इन्धन आवश्यकता हो।

ूसुपरसोनिक गतिमा जान धेरै ऊर्जा चाहिन्छ, त्यसका लागि धेरै इन्धन चाहिन्छ,ू बुमकी प्रमुख व्यावसायिक अधिकृत क्याथी साभिटले भनिन्।

तर उनले ओभरटर शून्य कार्बन विमान हुने अपेक्षा गरिन्।

बुमले आफ्नो विमान वातावरणमैत्री इन्धन प्रयोग गर्ने बताएको छ।

जुन इन्धन कि त जनावरको खेर जाने बोसोबाट बन्न सक्छ कि विशेष रूपमा उत्पादन गरिएको ऊर्जावान् बालीबाट आउने क्रानफील्ड विश्वविद्यालयका डा। गाय ग्राटनले बताउँछन्।

तर उनका अनुसार अहिले त्यस्तो इन्धनको उत्पादन यथेष्ट मात्रामा भइरहेको छैन।

बुमले हावाबाट तरल ऊर्जा निर्माण गर्ने जस्ता प्रविधिले अपुग इन्धन आपूर्ति गर्न सक्ने बताउँछ ।

अन्यधिक लगानी गरेर ५० वर्षअघि विकास गरिएको कन्कर्ड विमान ब्रिटिश वायुसेवाको लागि सञ्चालनका अन्तिम वर्षहरूमा नाफामूलक रहेको बताइन्छ।

कन्कर्डको यात्रा विलासी मानिन्थ्यो किनभने यसको यात्रा अन्य विमानमा भन्दा दुई गुणा महँगो थियो।

अहिले भने धनाढ्यहरू निजी विमानमा यात्रा गर्न मन पराउने डा। ग्राटनको भनाइ छ।

उनका अनुसार व्यावसायिक उडानको प्रथम श्रेणीमा उड्नुभन्दा साना निजी विमान भाडामा लिएर यात्रा गर्दा आफूले चाहेको विमानस्थलमा नकुरी यात्रा गर्न सकिने भएकोले पैसा हुनेका लागि त्यो सहज छ।

बुमको अध्ययनले मानिसहरू छिटो गतिमा यात्रा गर्न चाहन्छन् र कन्कर्डको तुलनामा नियमित दरमै टिकट बेचे पनि ओभरटर नाफामूलक हुने बताइएको छ।

टिकटको दर युनाइटेडले निश्चित गर्ने छ तर उसले अवश्य पनि प्रतिविमानका लागि तिर्ने २० करोड डलरबाट नाफा नै खोज्ने छ।