गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने खेल सुरु, मुख्यमन्त्री गुरुङ पदमुक्त
कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने खेल सुरु भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार बनाउने खेल सुरु भएको हो उहाँका लागि प्रदेश सभामा राखेको प्रस्तावममा २७ मत परेको छ । त्यस्तै प्रस्तावको विपक्षमा ३० मत परेको छ । प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त हुनुभएको छ ।
यसअघि वैशाख २७ गते मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव राख्ने कार्यक्रम तय भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आव्हान गर्नुभए पनि कुनै पनि दलको बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्ति हुनुभयो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुभएको हो ।