बाइडेनले सीसँग पनि शिखरवार्ता गर्ने

 

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङसँग दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी गर्ने भएका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबीच कुराकानीको वातावरण मिलाउन लागिएको जनाएको छ।

रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई यही साता जेनेभामा भेटेर वासिङ्टन फर्किएका बाइडेनले अमेरिकाको तिक्ततापूर्ण सम्बन्ध भएको अर्को शक्ति राष्ट्र चीनका राष्ट्रपतिसँग कुरा गर्न लागेका हुन्।

युरोप भ्रमणका क्रममा बाइडेनले जी ७ र नाटो सदस्य राष्ट्रहरूलाई चीनविरूद्ध एक मत बनाउन प्रयास गरेका थिए। जी ७ को सम्मेलनपछि जारी भएको संयुक्त वक्तव्यमा बेइजिङले आपत्ति नै जनाएको थियो।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरूद्ध व्यापार युद्ध सुरू गरेका थिए। दुई पक्षीय व्यापार, साउथ चाइना सी, हङकङ, ताइवान र सिन्जियाङलगायत विषयमा वासिङ्टन र बेइजिङबीच तीव्र मतभेद छ। पछिल्लो समय तिक्ततापूर्ण सम्बन्धमा थपिएको छ(कोरोनाभाइरस महामारी।

बाइडेनले सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको उद्गम बिन्दु पत्ता लगाउन आफ्ना अनुसन्धान संस्थाहरूलाई निर्देशन दिएका छन्।

बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले दुई नेताबीच कुराकानी गर्ने तयारी भए पनि कहाँ, कसरी कुराकानी हुने भन्ने तय हुने बाँकी रहेको बताएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार सुलिभानले टेलिफोनमा वा कुनै अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा वा अरू कुनै मान्धमबाट कुराकानी हुन सक्ने बताएका छन्।

बाइडेन र चिनफिङ दुबै जना अक्टुबरमा इटालीमा हुने जी २० शिख सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *