तामाकोसी खुलाउन चिनियाँ टोली सक्रिय

maitrinews

 

दोलखा । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो ।

पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको छ । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो ।

रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको छ । उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो ।
तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।