माथिल्लो तामाकोसीबाट विद्युत् उत्पादन सुरु

maitrinews

 

दोलखा । बहुचर्चित स्वदेशी लगानीको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्रीले बालुवाटरमा आयोजित कार्यक्रममा स्विच थिचेर आयोजनाको उद्घाटन गर्नुभयो । पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उद्घाटन कार्यक्रम आयोजना स्थलमासमेत गरिएको थियो ।

निमार्ण सुरु भएको आयोजनाले ११ वर्षपछि उत्पादन थालेको हो । २०६७ सालबाट आयोजना निमार्ण सुरु भएको हो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार पहिलो युनिटबाट ७६ मेगावाट व्यवसायिक विद्युत् उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसको एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने उनले जानकारी दिए । ‘२२० केभी देवीटार सबस्टेसनबाट प्रसारण लाइनमा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएका छौं,’ उनले भने, ‘आजबाट औपचारिक रुपमै विद्युत् उत्पादन सुरु भएको छ ।’
असारसम्ममा कम्तिमा २ वटा युनिटबाट १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने तालिका राखिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । ३५ अर्ब ३३ करोडमा निर्माण सकिने भनिएको आयोजनाको लागत बढेर ८१अर्ब पुगेको छ ।