नेपाललाई अझै खोप दिन्छौं : चीन

 

काठमाडौँ । उत्तरी छिमेकी चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको खोप अझै दिने बताएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार भर्चुअल पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीन सधैँ नेपालको साथमा रहेकाले आउने दिनमा नेपाललाई थप खोप दिने बताएकी हुन्।

‘अहिले नै नेपालले ४० लाख डोज खोप किनिरहेको छ। आउने दिनमा हामी अरू धेरै खोप नेपाललाई दिन्छौं,’ राजदूत यान्छीले भनिन्,‘चीनको खोप उत्पादन क्षमता दिनदिनै बढिरहेको छ। त्यहीअनुसार नेपाललाई पनि दिने खोप बढाउँछौं।’

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो भने पछिल्लो समय नेपालले ४० लाख डोज चिनियाँ खोप किन्ने सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ८ लाख डोज खोप नेपाल आइसकेको छ।
अरू खोप पनि आउने क्रममा रहेको छ।

चीनबाट सरकारले खोप कतिमा किनेको हो भन्नेबारे अहिलेसम्म खुलाएको छैन। यसबारे सोधिएको प्रश्नमा राजदूत यान्छीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल(चीन खोप सहकार्य भएको बताइन्।

‘विश्वका १ सय बढी मुलुकमा चीनले खोप दिएको छ र ती सबै मुलुकलाई यस्तै प्रक्रियाबाट खोप दिइएको छ,’ राजदूत यान्छीले भनिन्,‘अन्तर्राष्ट्रिय कानुनअनुसार खोप सहकार्य गरिएको हो। यसमा कुनै असामान्य कुरा भएको छैन।’

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित उक्त भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले चिनियाँ कम्युनिष्ट पार्टीले १०० वर्षमा गरेका प्रगति र पछिल्लो समय चीनले अवलम्बन गरेको पार्टी महासचिव एवं राष्ट्रपति सी चिनफिङको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ विचार धाराबारे धारणा राखेकी थिइन्।

‘हामी समाजवादी मुलुक हौं। तर हरेक मुलुकको आ(आफ्नै विशेषता र व्यवस्था हुन्छ। नेपालमा जे व्यवस्था छ हामी त्यसको सम्मान गर्छौं,’ राजदूत यान्छीले भनिन्,‘हामी कुनै पनि मुलुकलाई आफूजस्तै हुनुपर्छ भनेर दबाब दिँदैनौं।’

नेपाल चीनको पुरानो,भरपर्दो साथी र छिमेकी भएको उल्लेख गर्दै उनले नेपालको विकासमा चीनको सधैं साथ रहने बताइन्।

पछिल्लो समय दुई देशका व्यापारिक नाकामा देखिएको अवरोध पनि छिटै हट्ने उनले बताइन्।

‘चीनको स्वशासित क्षेत्र तिब्बतलाई कोरोना महामारीबाट जोगाउनु निकै महत्वपूर्ण छ। त्यही भएर अहिले तातोपानी र रसुवागढी नाकामा आवात(जावत कम भएको हो,’ राजदूत यान्छीले भनिन्,‘तर यो कुनै राजनीतिक कारणले भएको होइन। प्राविधिक कारणले रोकिएको हो। दुबै देशका सम्बन्धित अधिकारीहरूले जति सक्यो छिटो समस्याको समाधान गर्नेछन्।’

राजदूत यान्छीले सिचुवान प्रान्तको राजधानी छेन्दुमा दक्षिण एसियाली मुलुकहरूलाई विपद् पर्दा चाहिने सामग्रीको भण्डारण गर्न लागिएको पनि बताइन्। महामारी, प्राकृतिक विपत्ति वा अरू कुनै प्रकारका संकट पर्दा चाहिने अत्यावश्यक सामग्री उक्त भण्डारण केन्द्रमा जम्मा हुने उनले जानकारी दिइन्।

‘संकटको बेला हामीलाई फ्याक्ट्रीदेखि सामान ल्याउन, विमानस्थलमा पुर्‍याउन र त्यसलाई सम्बन्धित देशमा लैजान लामो प्रक्रिया पूरा गर्नु परिरहेको थियो,’ राजदूत यान्छीले भनिन्,‘मेडिकल सामग्रीलगायत अरू सामान भण्डारण गरेर राखे चाहेको बेला जुनसुकै मुलुकमा तत्कालै पठाउन सकिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *