लुम्बिनीमा संसद् अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने
रूपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले गए राती नै अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेशसभामा पेश भएको बजेट सहमति पास गर्नका लागि सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि शुक्रबार साँझ एमालेले सदन बहिष्कार गरेर हिंडेको थियो ।
एमालेले बहिष्कार गरेपछि केही समय स्थगित भएको प्रदेशसभा पछि सूचना टाँसेर आज ९शुक्रबार० दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो ।
शुक्रबार राति मन्त्री परिषद बैठक बसेर संसद स्थगित गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सदन अन्त्य गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १९३ को उपधारा २ बमोजिम भन्दै आठौं अधिवेशन अन्त्य गर्नुभयो ।
यो सँगै लुम्बिनीको बजेट अध्यादेशबाट आउने भएको छ । सदनमा सहकार्य गर्न, सहमति गर्न प्रतिपक्ष तयार नभएकाले बाध्य भएर सरकारले यो बाटो रोजेको एमाले सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।
