अब एमाले रचनात्मक प्रतिपक्ष, विश्वासको मत नदिने : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई गति दिन आफूहरूको रचनात्मक र सक्रिय भूमिका हुने बताउनुभएको छ ।
तुलसीलाल प्रतिष्ठान च्यासलमा आज एमाले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले अब पार्टीका नीति तथा कार्यक्रम लिएर जनतामा गई व्यापक समर्थन प्राप्त गर्ने बताउनुभयो ।
‘राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ,’ ओलीले भन्नुभयो, ‘हामी हाम्रा विचारहरू, हाम्रा आदर्श, हाम्रा उद्देश्य, हाम्रा नीति, कार्यक्रम लिएर जनताका बीचमा जानेछौं । नेपाली जनताको समर्थन व्यापक रूपमा प्राप्त गर्नेछौं ।’
जनताको समर्थनबाट बनेको सरकार सर्वोच्चको परमादेशका कारण ढलेको भन्दै ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको बताउनुभयोे । बैठकमा कार्यदलमा भएको दसबुँदे सहमतिका विषयमा पनि छलफल हुने भएको छ । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष भने बैठकमा उपस्थित छैन । बैठकले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
