ठाकुर पक्षका पाँच सांसद यादवतिर
काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन्।
अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षतिर लागेका हुन्। यसअघि उनीहरू ठाकुर पक्षमा लागेका थिए।
उनीहरू अहिले बालकुमारीस्थित संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएका छन् ।
उनीहरूसहित अब उपेन्द्र यादव पक्षमा १७ सांसद पुगेका छन् ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग(अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए।
उनीहरूमा देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोजले इजलास गठन समेत गरेको छ।
साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ। त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ।
जसपामा अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाही गरेका थिए।
यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको थियो।