बाटो बिराएका सबैलाई ‘आममाफी’ दिने ओलीको घोषणा

 

काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभएको छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भन्नुभयो, ‘ बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

उहाँले अघि भन्नुभएको छ, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उहाँले भन्नुभयो, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’