गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखमा गुरुङ र शेरचन
चितवन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ ।
दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुनुहुन्छ । भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरूङको घर पर्दछ । वामपन्थी राजनीतिबाट अघि बढ्नुभएका शेरचन र कांग्रेसको राजनीतिमा अघि बढ्नुभएका गुरुङ दुवैले इमान्दार नेताको छवि बनाउनुभएको छ । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार हुनुहुन्थ्यो । त्यतिबेला शेरचनले जित्नुभयो भने गुरुङ निकटतम प्रतिद्वन्द्वी बन्नुभयो ।
