मनाङ र मुस्ताङका सबै नागरिकले लगाए कोरोना खोप
काठमाडौं । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । भौगोलिक विकटता, मौसमको प्रतिकुल अवस्था, बाढी, पहिरो जस्तो प्राकृतिक विपत्तिसँग जुधेर त्यहाँका स्वास्थ्यकर्मीले लक्षित समूहका सबैलाई खोप लगाएका हुन् ।
बाढी र पहिरोका कारण मनाङ सदरमुकाम चामे झण्डै डेढ महिनादेखि सडक सञ्जाल र विद्युत सम्पर्कबाट विच्छेद थियो । त्यहाँ खोप पुर्याउनु मात्र होइन, सुरक्षित रुपमा भण्डारण गर्नु पनि चुनौतीपूर्ण थियो । तर स्वास्थ्यकर्मीले खोप अभियानलाई सफल बनाएका छन् ।
१४ माघ २०७७ मा खोप अभियान शुरु गर्दा स्वास्थ्यकर्मी र फ्रन्टलाइनरले र दोस्रो चरणमा ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई मात्र खोप लगाउने भनिएको थियो ।
मनाङ थोरै जनसंख्या भएको जिल्ला, त्यसमाथि भौगोलिक विकटता भएका कारण घरिघरि एउटै ठाउँमा खोप बोकेर नागरिकलाई लगाउन जान सहज थिएन । ‘बल्ल–बल्ल बोकेर खोप पुर्यायो, लक्षित समूह १०र१२ जना मात्रै हुन्थे,’ स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्य भन्छन् ।
उनले यही समस्या तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री, स्वास्थ्य सचिवहरुको जुम मिटिङमा राखे र मनाङ र मुस्ताङका सबै नागरिकलाई खोप लगाउने प्रस्ताव राखे । कतै कसैले नपाउने, कतै सबै नागरिक पाउँदा विरोध हुन्छ भनेर मन्त्रालयका अधिकारीहरुले उनको प्रस्तावमा सहमति दिएन ।
आचार्य भन्छन्, ‘अधिकारकै कुरा गर्ने हो भने पोखराका नागरिकले पाँच मिनेटमै सुविधासम्पन्न अस्पताल पुगेर उपचार पाउँछन् । तर मनाङ, मुस्ताङका जनताले कोभिड भयो भने अस्पताल नै देख्न नपाएर मर्नुपर्ने दिन आउँछ । त्यहाँका जनताले त्यो दिन भोग्न नपरोस् भनेर प्रस्ताव गरेको थिएँ ।’