दोस्रो ठूलो सहर कान्दहार पनि तालिवानको कब्जामा
काबुल । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ।
उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ।
उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो।
अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो।
यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन्।
अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनः काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन्।
एकजना तालिबानका प्रवक्ताले ूकान्दहार पूर्ण रूपमा जितिएको छू भन्ने घोषणा गरेका छन् तर त्यसलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन।
स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन्।
यद्यपि त्यसको पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन।
तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ।
उसले हालसम्म देशको एक तिहाइ भू(भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ।