म पार्टी एकताको पक्षमा छु : अष्टलक्ष्मी शाक्य

 

काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।

उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर–बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टी एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटक–पटक आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर–बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो ।’

उहाँले थप्नुभयो, ‘गलत सन्देश दिने काम नगरिदिनुहोस् । जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ । हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढनेछ ।’

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरूको परामर्शको आधारमा अघि बढ्दा नै प्रदेश सरकारले राम्रो काम गर्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाक्यले नेकपा एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताउनुभयो ।