भारतमा गाईलाई राष्ट्रिय जनावर घोषित गर्न उच्च अदालतको सुझाव

 

इलाहावाद । उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषित गर्न भारत सरकारलाई विचार गर्न आग्रह गरेको छ । इलाहाबाद उच्च अदालतका न्यायाधीश शेखर कुमार यादवको एकल इजलासले गाईलाई मौलिक अधिकार दिनका लागि केन्द्र सरकारलाई संसदमा विधेयक पारित गर्न पनि भनेको छ ।

उच्च अदालतले आफ्नो सुझावमा केन्द्र सरकारले संसदमा बिल ल्याएर गाईलाई राष्ट्रिय जनावरको दर्जा दिन आग्रह गरेको छ । उच्च अदालतले भनेको छ, ‘जब गाईको कल्याण हुन्छ तब देशको कल्याण हुन्छ । गाई भारतीय संस्कृतिको अहम् हिस्सा हो ।’

जावेद नामका निवेदकको रिट खारेज गर्दै बुधबार न्यायाधीश यादवले गाईको रक्षा गर्ने जिम्मा केबल एक धर्मको नभएको बताएका छन् ।

यादवले मौलिक अधिकार केबल गाईको मासु खानेको मात्र हैन जसले गाईको पूजा गर्छन् र जो आर्थिक रुपले गाईमाथि निर्भर हुन्छन् उनीहरुको पनि हो भनेका छन् ।