अविरल वर्षाले उपत्यकाका धेरै ठाउँ डुबानमा

 

काठमाडौँ । सोमबार बिहानदेखि परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यकाका धेरै ठाउँ डुबानमा परेका छन्। काठमाडौं र भक्तपुरका धेरै ठाउँ डुवानमा परेका हुन्।

काठमाडौंमा बाढीका कारण करिब चार सय घर डुबानमा परेका प्रहरीले जनाएको छ। डुबानमा परेका घरटहराबाट एक सय ३८ जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको छ। बाममती नदी किनारका अधिकांश सुकुम्बासी बस्ती डुबानमा परेका हुन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बाढीको सबैभन्दा ठूलो असर बल्खुमा देखिएको छ।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट, चावहिल, बालाजु नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र भारी वर्षाको कारण डुबानमा परेका हुन्। त्यस्तै भक्तपुरको राधेराधे क्षेत्र पनि डुबानमा परेको छ।

आज बिहान काठमाडौं उपत्यकामा छोटो समयमै १०५ मिलिलिटरसम्म वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, विष्णुमती, मनहरा, धोवीखोला, हनुमन्ते लगायत उपत्यकाका सबैजसो खोलामा आज बिहानैदेखि ठूलो बाढी आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *