सर्वदलीय बैठक निष्कर्षविहीन

maitrinews

 

काठमाडौँ । सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए । ‘कुनै निचोडमा पुगेको छैन । यो सभामुख र प्रमुख प्रतिपक्षको कुरा हो, उहाँको उपस्थितिबिना कुनै परिणाम आउदैन’ अध्यक्ष ठाकुरले भने, ‘पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २,३ दिनमात्र भएको छ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरे पनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् ।