पर्खी राई यूएस कराते फाइनल खेलाउने पहिलो नेपाली

maitrinews

न्युयोर्क । अमेरिकामा कार्यरत कराते प्रशिक्षक एवं रेफ्री पर्खी राईले पुनः अर्को सफलता पाउनुभएको छ । उहाँ हालै मात्र अमेरिकन कराते महासंघबाट तेस्रो डान बन्नु भएको छ । अमेरिकन कराते महासंघबाट तेस्रो डान पाउने राई पहिलो नेपाली हुनुहुन्छ ।
उहाँ यूएसए नेशनल कराते च्याम्पियनसिपको फाइनल खेलाउने पहिलो नेपाली रेफ्री पनि बन्नु भएको छ । अमेरिकाको इलोनोइमा हालै सम्पन्न च्याम्पियनसिपमा एलिट पुरुप ७५ केजीको स्वर्ण पदकका लागि भएको वाउटको रेफ्री प्यानलमा राई पनि पर्नु भएको थियो । यूएस कराते च्याम्पियनसिपमा यस अगाडि अन्य नेपाली प्रशिक्षकहरुले पनि खेलाए पनि एलिट तर्फको फाइनल वाउटका लागि रेफ्रि प्यानलमा पर्ने राई पहिलो नेपाली हुनुहुन्छ ।
पुरुष ७५ केजी तौल समूहको स्वर्ण पदकका लागि जेरर्ड स्मिथ र थमश स्कट भिड्नु भएको थियो । अमेरिकाको एथलिक्ट अफ एयर अवार्ड जितेका थमश ओलम्पियन समेत हुनुहुन्छ । सोलुखुम्बुका पर्खी राई अमेरिका आ पछि मात्र कराते खेल्न थाल्नु भएको हो । अहिले उहाँ अमेरिकामा कराते खेलका प्रशिक्षक, रेफ्रि र कराते स्कुलका मालिक बन्नु भएको छ ।
पर्खी राई सन् २०१९ मा पान अमेरिकाबाट करातेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्री बन्नु भएको थियो । सन् २०१५ मा उहाँले पान अमेरिकाबाटै राष्ट्रिय रेफ्री पाउनु भएको थियो ।
पर्खी राई अमेरिका आएर ३२ बर्षको उमेरदेखि कराते खेल्न शुरु गर्नुभयो । सन् २००८ मा छोराहरुलाई कराते सिकाउनका लागि ज्याक्सन हाइटमा रहेको इन्टरनेशनल मार्शल आर्ट एशोसिएशनमा पाइला टेकेका उहाँले छोराहरु सँगसँगै आफुलाई पनि करातेकर्मी बनाउनुभयो । संयोग के पनि छ भने पर्खी राईले जुन स्कुलमा करातेको कखरा सिक्नुभयो त्यही प्रशिक्षक बन्नु भयो र अहिले उहाँ नै त्यो स्कुलको मालिक समेत बन्नुभएको छ ।

पर्खी राईले अमेरिकन कराते महासंघबाट पनि तेस्रो डान प्राप्त गर्नुभएको छ । यस अगाडि उहाँले सन् २०१७ मा इन्टरनेशनल कराते महासंघबाट तेस्रो डान पाउनुभयो । एशोसिएशनबाट तेस्रो डान पाए छि महासंघमा आवेदन दिनु पर्ने हुन्छ । प्राप्त निवेदनमा छानविन गरेपछि मात्र महासंघले डान सर्टिफिकेट दिने नदिने निर्णय हुन्छ ।
युवा अवस्थाको डिलमा खेलकुदमा लागेर यो सफलता पाउने कमै भाग्यमानीमा पर्खी राई पर्नुहुन्छ । नेपालमा करातेको संस्थापक मध्येका केही र अन्य खेलमा पनि ख्याति कमाएकाहरु अमेरिका आए पछि गुमनाम छन् । तर नेपालमा खेलकुदसँग कुनै साइनो नभएका पर्खी राईले अमेरिकामा आफुलाई सफल खेलकर्मी बनाएर नेपालको इज्जत बढाउनुभएको छ ।