नेपाल प्रहरी सेवा सदैव प्रशंसनीय : मन्त्री डा. शाक्य

maitrinews

हेटौडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यले लामो इतिहास भएको नेपाल प्रहरीले इतिहासबाट सिकेको पाठ र वर्तमानका चुनौतीपूर्ण परिस्थितिलाई अध्ययन गरी नयाँ कार्यदिशा पहिचान गरी अग्रसर हुन आह्वान गर्नुभएको छ ।
६६ औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित विशेष समारोहमा उहाँले भन्नुभयो, प्रहरी सेवा आफैमा कठिन एवं चुनौतीपूर्ण सेवाको रुपमा लिइन्छ । स्थापना कालको आरम्भ देखी नै जनताको जिऊधनको सुरक्षार्थ आईपरेका चुनौतीहरुलाई सामना गर्ने क्रममा अपुर्व साहस र बहादुरी देखाउँदै आएको नेपाल प्रहरी जस्तो सुकै बिषम परिस्थितिमा पनि राज्यले सुम्पिएको उत्तरदायित्वलाई कर्तव्य सम्झी अदम्य साहस, विरता र धैर्यताका साथ कर्तव्य पालनको क्रममा ज्यानको बलिदान दिएको इतिहास सर्वविदितै छ ।

उहाँले भन्नुभयो, हालसम्म यस संगठनलाई नागरिकको सेवामा समर्पित बनाई राख्न अहोरात्र खटिने आफ्नो जिम्मेवारी र कर्तव्य पालनाको सिलसिलामा साहदत प्राप्त गर्ने तमाम सम्पूर्ण ती वीर अमर सहिद प्रहरीहरु प्रति आज प्रहरी दिवसको उपलक्ष्यमा म हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । यस्तै जिम्मेवारी निर्वाह गर्ने क्रममा विभिन्न घटनाक्रमहरुमा विभिन्न परिस्थितिमा परेर ज्यान गुमाउने विर अमर प्रहरी परिवारजनहरु प्रति पनि म हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।

नेपाल प्रहरी संगठन राज्यको विभिन्न निकायहरु मध्येको राज्यको प्रतिनिधित्व गर्ने वास्तवमै राज्यको एक प्रमुख संगठन हो । यो संगठनमा आवद्ध तमाम सकल दर्जाका प्रहरी कर्मचारीहरु जो इमान्दारिताका साथ कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारी पूरागर्दै आउनु भएको छ, ती सवै राज्यको तर्फबाट सदैव सम्मानका पात्रहरु हुनुहुन्छ । हामी तपाईहरुको काम, तपाईहरुले निभाउनु भएको भुमिकाको सदैव प्रशंसा र उच्च मुल्याङ्कन गरिरहेका हुन्छौं । मन्त्री डा. शाक्यले भन्नुभयो ।

उहाँले भन्नुभयो, बागमती प्रदेश सरकारले पनि प्रहरी समायोजनको प्रकृया सुरु नभएतापनि विभिन्न तवरले सहयोग गर्दै एउटा सरकारको दायित्व पुरा गर्दै आइरहेको छ । हामीले बागमती प्रदेश प्रहरीका निम्ति अहिलेसम्म ४० वटा भन्दा बढी प्रहरी भवनहरु निर्माण गरिसकेका छौं । यस बर्ष पनि प्रहरी भवनहरु निर्माण गर्न ४५ करोड जति बजेट राखेका छौं । यस अलावा आवश्यक उपकरणहरु खरीद गर्न, जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्न समेत उल्लेख्य सहयोग गरेका छौं । यस्तै हामीले प्रहरीका निम्ति सवारी साधनहरु दिएका छौं र अझ पनि बागमती प्रदेश प्रहरीलाई आवश्यक पर्ने साधन स्रोतले सम्पन्न गर्न हाम्रो सहयोग निरन्तर रहन्छ भनी प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।
यस्तै बागमती प्रदेश सरकारले प्रहरी ऐन बनाईसकेको छ र प्रहरी ऐन बनिसकेपछि पनि प्रहरी समायोजन हुन नसकेको अवस्था हामी माझ छ त्यसैले पनि प्रहरी समायोजनको कार्य यथाशिध्र होस् भनी म नेपाल सरकारसँग जोड्दार माग गर्दछु । नेपाल सरकारले प्रहरी समायोजन गर्न ढिलो गरिरहेको परिपेक्ष्यमा समेत बागमती प्रदेश सरकारले आफ्नो दायित्व पूरा गर्ने सन्दर्भमा हामीले प्रदेश प्रहरीका भौतिक संरचना, विभिन्न साधनस्रोत खरीद र क्षमता अभिबृद्धिका लगायतका क्षेत्रहरुमा विभिन्न तवरले सहयोग पु-याउदै आइरहेका छौं र पुर्याईरहने छौं । उहाँले भन्नुभयो ।

मन्त्री डा. शाक्यले प्रहरी सदैव चनाखो भई साधनस्रोतले सम्पन्न हुनु पर्दछ तर मैले देखे बुझे अनुसार जति साधनस्रोत सम्पन्न हुनु पर्ने हो त्यति भएको पाईन । यदि प्रहरी समायोजनको कार्य यथाशिध्र सम्पन्न गरिदिए बागमती प्रदेश सरकार प्रहरीलाई पूर्ण रुपमा साधन स्रोतले सम्पन्न गर्न तयार छ । हाम्रा मुख्य मन्त्री माननीय अष्टलक्ष्मी शाक्यज्यूले समेत पटक पटक प्रहरीलाई आवश्यक साधनस्रोतले सम्पन्न गर्न मलाई निर्देशन दिनु भएको म यहाँ स्मरण गर्न चाहन्छु । त्यसैले पनि म सहित बागमती प्रदेश सरकार यस विषयमा सचेत भई लागेको यहाँ स्पष्ट पार्न चाहन्छु । यदि प्रहरी समायोजनको कार्य सम्पन्न भएमा अपराध न्यूनीकरण गर्न, दूर्घटनाहरु न्यूनीकरण गर्न र शान्ती सुरक्षा चुष्ट दुरुष्ट राख्न समेत हामी सक्षम छौं तयार छौं भन्नुभयो ।


उहाँले भन्नुभयो, अहिले बागमती प्रदेश प्रहरी कार्यालयले सम्पादन गरेका कार्यहरुलाई हामीले नजिकबाट नियाली रहेका छौं । संगठनात्मक सुधार, प्रहरी कर्मचारीको आचरण व्यवहारमा सुधार योजनाबद्ध सेवा प्रवाहको विकास लगायतका थुप्रै विषयहरुमा बागमती प्रदेश प्रहरीले गरेको कार्यको हामीले उच्च मुल्याकंन गरेका छौं । नेपाल प्रहरीमा आवद्ध सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो व्यवहार एवम् आचरणलाई सुधार गरेर व्यवसायिक र कर्तव्यनिष्ठ पथमा लम्किनुको साथै निम्नस्तर देखि उच्च स्तरसम्मको कर्मचारी समेत ले यही अभिलासा राखेर जिम्मेवारी खटिने हो भने पक्कै पनि हामीले सुरक्षित समाज निर्माणमा नागरिकको सहयोग र सहकार्य प्राप्त गर्दछौं । यस कार्यमा बागमती प्रदेश प्रहरी आगमाी दिनहरुमा अझै कटिबद्ध होस् , कठिन र मेहनत गरोस् भन्ने म सुभेच्छा तथा निर्देशन समेत दिन चाहन्छु ।

बढ्दो प्रविधिसँगै वर्तमान अपराधको अवस्था दिन प्रतिदिन जटिल हुंदै गइरहेको छ भन्दै मन्त्री डा. शाक्यले भन्नुभयो, जटिल अपराधलाई समेत निराकरण गर्नका लागि प्रहरी जुन किसिमका प्रविधिमैत्री हुनुपर्ने हो त्यो हुन सकिरहेको देखिदैन । यद्यपि यी साधन स्रोत लगायतको अभावका वावजुत पनि प्रहरीले सम्पाद गरेका कार्यहरु उत्कृष्ट मान्नै पर्दछ । नेपाल प्रहरीले आफूसँग भएको जे जति स्रोत साधन र प्रविधि छ त्यसलाई अधिकत्तम उपयोग गरि आफ्नो कर्तव्य पूर्णरुपमा पालना गर्न सकोस् भन्ने आज प्रहरी दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

सवैले आ–आफ्नो कर्तव्य पूर्णरुपमा पालना गरे अपराध आफै न्यून हुन जानेछ । मैले गर्दा, अरुलाई हानी नोक्सानी पुर्याउन हुदैन भन्ने चेतना जागे अवश्य पनि एउटा आदर्श समाज हामीले निर्माण गर्न सक्छौं । कुनै दिन तपोभूमि रहेको हाम्रो मूलुकलाई साच्चै नै स्वर्गजस्तो बनाउने हो भने हामीले आदर्श समाजको निर्माण गर्न जरुरी छ । यसको लागि अरुको खिसिटिउरी गर्ने होइन हामी स्वयँ पहिला उदाहरण भएर देखाउनु पर्दछ । चेतनशील नागरिक भएर व्यवहार गर्नु पर्दछ । हाम्रो सन्ततीलाई हाम्रा पूर्खाले प्रतिपादन गरेको जीवन दर्शनहरुबाट अभिप्रेरित गरि मार्गदर्शन दिनु पर्दछ । हामीले आफूलाई ऋषिमुनी जस्तो ज्ञानी ध्यानी बनाउन नसकुंला तर एक चेतनशील कर्तव्यनिष्ठ नागरिकको रुपमा मात्र भएपनि प्रस्तुत गर्न सक्यौं भने हाम्रो मुलुक साँचै नै देव भूमि जस्तो हुनेछ , मलाई यस्तो लाग्दछ ।
आज प्रहरी दिवसको दिन हाम्रा सम्पूण प्रहरी साथिहरु अवश्य पनि कर्तव्यनिष्ठ भई इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने हुनेछ भन्ने मैले विश्वास गरेको छुं । यो मुलुकलाई सुन्दर बनाउने हामी सवैको दायित्व हो त्यसैले पनि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर हामी सवै सुखी नेपाली सम्बृद्ध नेपाल बनाउन लागि परौं भन्न चाहन्छु ।

अन्त्यमा ६६ औं प्रहरी दिवसको अवसरमा मलाई निमन्त्रणा गरी आफ्नो मन्तब्य राख्ने अवसर प्रदान गरिदिनु भयो यसको लागि म बागमती प्रदेश प्रहरी प्रमुख र प्रदेश प्रहरी परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँहरु सम्पूर्णमा पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । दशैं, तिहार, नेपाल संवतको नयाँ बर्ष ११४२ र छठ पर्वको उपलक्ष्यमा समेत यहाँहरुलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । यहाँहरुको सवैको भलो होस् मगंल होस् उहाँले भन्नुभयो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रहरी दिवसको अवसरमा महिला हिंसा अन्त्यको लागि प्रहरी अझ सशक्त ढंगले अघि बढ्नु पर्ने बताउनु भयो । यस्तै प्रहरीले गणतन्त्र आईसकेपछि जनताको भावना अनुसार काम गरिरहेको तर अझ पनि जनताको मन जित्न थप योगदान दिनु पर्ने बताउनु भयो । बागमती प्रदेश सरकार प्रहरीलाइ साथ दिन संधै तयार रहेको र सहयोग गर्दै आईरहेको पनि बताउनुभयो । सो अवसरमा विभिन्न प्रहरी जवानहरुलाई कदर पत्र वितरण गर्नु भएको थियो ।