सुन र चाँदीको मूल्यमा सामान्य गिरावट : सोमबारको तुलनामा ५०० रुपैयाँले घट्यो सुन

काठमाडौँ, ९ भदौ । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ तोकेको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबार चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा झरेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १ रुपैयाँ कायम भएको छ ।