माता भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरिँदै

 

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको दोस्रो दिन आज देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरी मनाइँदै छ ।

नवरात्रीभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाको नामबाट पनि चिनिने गरिन्छ । ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाआजा गर्ने प्रचलन पनि रहिआएको छ ।

आजको दिन बिहान सबेरै उठी नजिकै रहेका विभिन्न नदी, ताल, तलाउमा गई नुहाएर पूजाआजा गर्ने गरिन्छ ।

आज देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । राजधानीभित्रका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, इन्द्रायणीसहितका देवी दुर्गाका शक्ति पीठहरूमा आज दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।

नवरात्रको अवधिभर विभिन्न देवीदेवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भई व्रत बस्ने प्रचलन पनि रहेको पाइन्छ । नवरात्रमा व्रत बस्दा सोचेको मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।

द्वितीयाका दिन कोत, मन्दिर वा पूजा कोठामा दीप, कलश, गणेशसहित ईशानरकलश वा मध्य भागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार गरी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ ।

सनातन संस्कृतिमा भने दैवी शक्तिका रूपमा नारी शक्तिको उपासना सृष्टिको प्रारम्भदेखि नै सुरु भएको जनविश्वास छ ।

“अहम् ब्रह्मस्वरुपिणी’ अर्थात् यो सारा संसारको सृष्टिकारीका ब्रह्मस्वरुप म नै हुँ र जगत्मा भएका सारा प्रपञ्च मबाटै सञ्चालित छन्” भन्ने विषय देव्यथर्वशीर्षमा देवीकै उद्गारका रूपमा प्रस्तुत भएको नेपाल वेद विद्याश्रमका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल बताउनुहुन्छ ।

शक्तिको उपासना गर्दा कर्ताले रातो वस्त्र धारणा गरी भगवतीलाई रक्त चन्दन, रक्ताक्षत, रक्त पुष्प, बेलपत्र, रक्त वस्त्र चढाई आराधना गरी विभिन्न प्रकारका मिष्टान्न, नैवेदका साथै ऋतु फल, उखु, बेलपत्र, नरिवल आदि देवीलाई मन पर्ने फलफूल चढाउँदा मनोकामना पूर्ण हुने विश्वास रहेको उहाँले बताउनुभयो ।

सांसारिक मायामोहबाट मुक्त भई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव जीवन सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने शास्त्रमा उल्लेख छ ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीकका रूपमा पनि लिइन्छ । ब्रह्मचारिणी मातालाई पार्वतीको विवाह पूर्वको अवस्थाका रूपमा चर्चा गरिएको छ ।

माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ ।

ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गर्नुभएको छ भने दोस्रो हातमा कमण्डलु लिनुभएको छ । कमलले सच्चिदानन्द ब्रह्मस्वरुप सङ्केत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थको सङ्केत गर्दछ ।

आजै महाकाली, महालक्ष्मी, महासरस्वतीकी प्रतिमूर्ति ‘त्रिमूर्ति’ नाम गरेकी कन्यालाई दुर्गा स्वरूपका रूपमा पूजा गरी परिधानीय वस्त्रसहित अलङ्कार र दक्षिणा दिने गरिन्छ । साथै जप, दुर्गा सप्तशती पाठ र हवन गरी द्वितीया दिनको कर्म पूरा गर्ने चलन रही आएको छ ।

आजै घरघरमा ब्रह्मचारिणीको पूजा आराधना तथा गुण वर्णन गरिएका ग्रन्थहरूको वाचन तथा श्रवण पनि गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *