सरकारलाई पूर्णता दिन तीन महिना लाग्यो

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो। देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिनुभएको छ। स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा राखिएकोे छ ।

त्यस्तै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसक्नु भएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त हुनुभएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री बन्नु भएको छ। प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाउनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त हुनुभएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल हुनुहुन्छ ।