काँग्रेसका १२ नेता प्रधानन्यायाधीश हटाउने पक्षमा

maitrinews

 

काठमाडौं । नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यहरूले सर्वोच्च अदालतमा न्यायिक शुद्धीकरणका लागि भइरहेको आन्दोलनको पक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे , जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै न्यायपालिकाबारे उठेका प्रशनलाई कांग्रेसले नजर अन्दाज गर्न नहुने बताएका हुन् ।

निरंकुशतन्त्रमा पनि न्यायालयको नेतृत्वले नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा विवेकशील र न्यायपूर्ण रुपमा आफूलाई उभ्याउँदै आएको भन्दै उनीहरूले यस यथार्थको उपहास हुने कुनै पनि गतिविधि हुन नदिनु सबैको कर्तव्य र जिम्मेवारी भएको बताएका छन् ।

‘पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधलाई सामान्यरूपमा लिन मिल्दैन । यस्तो पेचिलो परिस्थितिमा पनि केही दल मौन छन् भने केहीले विगतमा न्यायालयले गरेको संविधानको रक्षाको प्रतिशोध साँध्न खोजेका छन् र घटनाक्रमलाई विषयान्तर गर्न प्रयत्नशील छन्’, संयुक्त विज्ञप्तिमा भनिएको छ’, ‘यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालयभित्रको विषय हो उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ रु कदापि मिल्दैन । किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले, आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन ।’