बसन्तपुरमा १०८ कन्याहरुको कन्यापूजा

Smrit

काठमाडौं । अन्तरराष्ट्रिय बाल दिवसको अवसमार काठमाडौंको बसन्तपुरमा १०८ कन्याहरुको कन्यापूजा भएको छ। महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा बसन्तपुरमा शनिवार कन्यापूजा संपन्न गरेको हो।

रजश्वला नभएका कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रुपमा पूज्ने चलन छ। यो परम्परागत नेपाली चलनलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न कन्यापूजाको आयोजना गरिएको भनाई ईनर ह्वील क्लब अफ कीर्तिपुरकी प्रेसिडेन्ट सुशीला मानन्धरको रहेको छ।

यस कन्यापूजामा आफू संलग्न रहेको लाईन एल सी के डायमण्ड नारी शक्ति, पूर्ण तारा फाउन्डेसन लगायतको पनि सगौरब सहभागिता भएको ख्यातिप्राप्त थेरापिष्ट एवम् सामाजिक अभियन्ता सुनिता भट्टराईले वताएकी छन् ।

हिन्दु र बौद्ध धर्म परम्परामा कुमारी वा कन्याले देश र जनतालाई रक्षा गर्ने विश्वास गरिन्छ । वैरभाव, शत्रुता र कपट विचारबाट विमुख हुने कन्यालाई पूर्णता दिएर नारीलाई सम्मान गर्नु हाम्रो परम्परा हो । त्यसैले पनि कन्यापूजा पश्चात् भगवान रुपी कन्याबाट आशिर्वाद थाप्ने चलन रहेको छ । शुभकार्य र सुखद सुरुवातको कामनाको लागि पञ्चकन्यालाई अघि सार्ने गरेको तर्क पनि अभियन्ता भट्टराईको रहेको छ ।

पूजामा सहभागी भएका सम्पूर्ण कन्याहरुलाई सबभन्दा पहिला कुमारी बनेकी बास्तविक कुमारी माजु, गणेश र भैरवबाट टीका र प्रसाद प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीले कन्याहरुलाई आ–आफ्नो इच्छा बमोजिम कापी–कलम उपहार दिएका थिए ।
प्रकाशन मिति–२०७८ साल मंसीर ६ गते सोमवार ।