भोटेकोशी बाढीपीडितको अस्थायी बसोबास व्यवस्थापनका लागि सरकारद्वारा सर्वेक्षण सुरु

काठमाडौं, २४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित भई हाल विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका नागरिकहरूलाई उनीहरूकै इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारले सर्वेक्षण अभियान सुरु गरेको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार आपतकालीन अवस्थामा बाढी प्रभावितका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। “अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु भइसकेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले गत मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाई ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्यांकन फारम’ मार्फत सर्वेक्षण गरिरहेको छ,” उनले बताए।

यस सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विवरणसँगै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्ने उनीहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी तथा सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताबारे तत्काल जानकारी प्राप्त हुने इन्जिनियर घिमिरेको भनाइ छ।

हाल यो सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सघाउने बताइएको छ। “एक हप्ताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ। त्यसपछि होल्डिङ सेन्टरभन्दा बाहिर रहेका प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिनेछ,” घिमिरेले थपे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *