पञ्जराँमा सुनिता डंगोल : श्रद्धेय गुरु बज्राचार्य, शाक्यभिक्षु तथा गुरुमाहरूलाई पञ्चदान, २४ वर्षपछि नराँ पञ्जराँ पुन प्रारम्भ
काठमाडौं, २४ भदाै । बौद्ध नेवार समुदायको महत्वपूर्ण पर्व पञ्जराँ अर्थात् पञ्चदानका अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल विभिन्न सामूहिक पञ्जराँमा सहभागी हुनुभएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वका क्रममा डंगोलले श्रद्धेय गुरु बज्राचार्य, शाक्यभिक्षु तथा गुरुमाहरूलाई स्वयं पञ्चदान गर्नुभएको हो।
गुँला महिनामा मनाइने पञ्जराँ बौद्ध नेवार समुदायमा दान, धर्म, करुणा र परोपकारसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। यही अवसरमा कार्यवाहक मेयर डंगोलले विभिन्न स्थानमा आयोजित सामूहिक पञ्जराँमा सहभागी हुँदै परम्परागत धार्मिक विधिमा समेत सक्रिय सहभागिता जनाउनुभएको हो।
पञ्जराँका क्रममा डंगोलले गुरु तथा गुरुमाहरूलाई श्रद्धापूर्वक दान सामग्री अर्पण गर्नुभयो। परम्पराअनुसार पञ्चदानमा धान, चामल, गेडागुडी, नुन, खिरलगायत खाद्य सामग्रीका साथै दैनिक जीवनमा आवश्यक वस्तुहरू दान गर्ने गरिन्छ।
डंगोलको यस वर्षको पञ्जराँ सहभागितामध्ये चमतीमा भएको नराँ पञ्जराँ विशेष बनेको छ। पूर्णकाजी ज्यापुको आयोजनामा चमतीमा करिब २४ वर्षपछि नराँ पञ्जराँ आयोजना गरिएको हो। लामो समयपछि पुनः सुरु भएको यस धार्मिक तथा सांस्कृतिक कार्यक्रममा कार्यवाहक मेयर डंगोलसमेत सहभागी हुनुभएको थियो।
नराँ पञ्जराँमा परम्परागत विधिअनुसार बज्राचार्य तथा शाक्यभिक्षुहरूलाई निमन्त्रणा गरी पाउ धोइदिने, पूजा गर्ने तथा विभिन्न सामग्री दान गर्ने गरिन्छ। चमतीमा आयोजित कार्यक्रममा पनि यही परम्परालाई निरन्तरता दिइएको थियो।
कार्यक्रमका क्रममा कार्यवाहक मेयर डंगोलले स्थानीयवासीसँग प्रत्यक्ष कुराकानीसमेत गर्नुभयो। उहाँले स्थानीय समुदायले संरक्षण गर्दै आएको पञ्जराँ तथा नराँ पञ्जराँको परम्परा, यसको धार्मिक महत्व र पुस्तान्तरणका विषयमा स्थानीयसँग जानकारी लिनुभएको थियो।
स्थानीयवासीले लामो समयपछि चमतीमा नराँ पञ्जराँ आयोजना हुनुले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक परम्परालाई पुनः जीवन्त बनाएको बताएका थिए। नयाँ पुस्तालाई समेत यस्ता पर्व र परम्परासँग जोड्न सामुदायिक सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ थियो।
बौद्ध दर्शनमा दान पारमितालाई दश पारमितामध्ये महत्वपूर्ण मानिन्छ। दानमार्फत मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना विकास हुने बौद्ध मान्यताका कारण पञ्जराँलाई केवल धार्मिक अनुष्ठानका रूपमा नभई सामाजिक सद्भाव र परोपकारसँग जोडिएको पर्वका रूपमा समेत लिइन्छ।
पञ्जराँका अवसरमा दिपंकर बुद्धको प्रतिमा प्रदर्शन गरी बज्राचार्य तथा शाक्यभिक्षु संघलाई दान दिने परम्परा रहँदै आएको छ। दान ग्रहण गर्ने क्रममा गुरुहरूबाट दानगाथा वाचन गर्ने र जजमानको आयु, आरोग्य, जन, धन, सन्तान, यश तथा प्रज्ञा वृद्धिको कामनासहित आशीर्वाद दिने चलनसमेत छ।
काठमाडौं उपत्यकाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहँदै आएको छ। त्यसैको निरन्तरताका रूपमा २४ वर्षपछि चमतीमा पुनः आयोजना गरिएको नराँ पञ्जराँमा कार्यवाहक मेयर सुनिता डंगोलको सहभागिताले धार्मिक परम्परा, स्थानीय समुदाय र महानगरबीचको सांस्कृतिक सम्बन्धलाई समेत उजागर गरेको छ।
