प्रतिनिधिसभामा भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदको सुझाव

काठमाडौं, २४ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्। बैठकको शून्य समयमा सांसदहरूले भदौ १० गतेको बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र होल्डिङ सेन्टरमा रहेकाहरूलाई उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद विदूषी राणाले रसुवा विपद् हिमालय क्षेत्रले पूर्वचेतावनी दिइसकेको उल्लेख गर्दै हिमनदी र उच्च हिमाली क्षेत्रको नियमित अनुगमन, अन्तरदेशीय सूचना आदानप्रदान तथा विपद् अनुकूल पूर्वाधार निर्माणको आवश्यकतामा जोड दिइन्। सांसद बिना गुरुङले भोटेकोशी विपद्ले जनधनका साथै नेपालको पर्यटन र नागरिकको जीविकोपार्जनमा समेत ठूलो क्षति पुर्‍याएको बताउँदै घरबारविहीन नागरिकको तत्काल पुनःस्थापना र पर्यटन व्यवसायीलाई विशेष राहतको माग गरिन्।

सांसद बुद्धरत्न महर्जनले राष्ट्रिय राजमार्ग कान्ति लोकपथको नियमित मर्मतसम्भारमा ध्यानाकर्षण गराए भने सांसद बुद्धिप्रसाद पन्थले जेनजी युवाको सपना सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आन्दोलनमा सहभागी युवामाथि लगाइएको झुटो मुद्दाप्रति आपत्ति जनाए।

सांसद भरतकुमार स्वाँर र भरतप्रसाद पराजुलीले बेपत्ताको खोजबिन तीव्र बनाउन र बेपत्ताको दाहसंस्कारसम्बन्धी कानुनी व्यवस्था गर्न सुझाव दिए। सांसद भीमकुमारी बुढा मगरले उद्धारमा भइरहेको ढिलाइले सम्पर्कविहीन नागरिकका परिवारमा थप पीडा थपिएको बताइन्। सांसद भरतबहादुर खड्काले डोटीको दिपायलबाट सरकारी कार्यालय अन्यत्र सारिँदा भएको लगानी क्षतिको विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसद मञ्जु भुसालले बेपत्ता नागरिकको खोज, उद्धार र परिवार पुनर्मिलनका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरिन् भने सांसद मधुकुमार चौलागाईंले बाढीपीडितलाई तत्काल राहत र सुरक्षित पुनःस्थापनाको माग राखे। सांसद मदनकृष्ण श्रेष्ठले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयासबारे सदनलाई जानकारी दिन माग गरे। सांसद मनमाया विश्वकर्माले निजामती सेवाका ट्रेड युनियनको सम्पत्ति जफत प्रक्रिया रोक्न माग गरिन्।

सांसद बलावती शर्माले गत भदौ २३–२४ को जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन शीघ्र कार्यान्वयन गर्न माग गरिन् भने सांसद मनिष खनालले जेनजी पुस्ताको माग सम्बोधनमा सरकारले ढिलाइ नगर्नुपर्ने बताए। सांसद रचना खतिवडा खत्री र रजनी श्रेष्ठले जेनजी आन्दोलनका सहिद र घाइते परिवार तथा झुटा मुद्दा लागेकाहरूले कहिले न्याय पाउने भनी प्रश्न उठाइन्। सांसद रिमा विश्वकर्माले युवामाथि लगाइएको झुटो मुद्दा फिर्ता र बन्दी युवाको तत्काल रिहाइको माग गरिन्, जबकि सांसद रमेश प्रसाईंले आन्दोलनमा दमन गर्नेमाथि कारबाही नहुँदा चौतर्फी प्रश्न उठिरहेको बताए। सांसद बसुमाया तामाङले ग्यासको कृत्रिम अभावले साना व्यवसायी मारमा परेको भन्दै बिक्रीवितरण सहज बनाउन ध्यानाकर्षण गराइन्।

सांसद मोहनलाल आचार्यले बाढीमा बेपत्ताको खोजी गर्न सरकारसँग अपिल गरे भने सांसद मोहम्मद फिरदोश आलमले बाढीप्रभावितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण र उचित राहतको माग राखे। सांसद युवराज दुलालले सिन्धुपाल्चोकका बेपत्ता २३९ जनाको खोजी कार्य प्रभावकारी बनाउन र नदीतटीय बस्तीमा पूर्वचेतावनी प्रणाली जडान गर्न सुझाव दिए। सांसद रमेशकुमार सापकोटाले नेपाललाई सहानुभूति होइन, जलवायु न्याय आवश्यक रहेको बताए।

सांसद यशोधा कुमारीले तराई/मधेसमा विषालु सर्पको समस्या बढेको भन्दै ‘एन्टीस्नेक भेनम’ तत्काल उपलब्ध गराउन माग गरिन्। सांसद यज्ञबहादुर बोगटीले अछाममा विद्युत् विस्तार ठेक्का पाँच वर्ष पुगे पनि ग्रामीण विद्युतीकरण अलपत्र परेको विषयमा ध्यानाकर्षण गराए। सांसद रत्नाकुमारी थापाले भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धार थप तीव्र बनाउन माग गरिन् भने सांसद रञ्जु न्यौपानेले विपद्को विषय अन्तर्राष्ट्रिय जगत्मा स्पष्ट रूपमा उठाई जलवायु न्यायको माग जोडदार बनाउनुपर्ने धारणा राखिन्।

सांसद रमेशकुमार मल्लले राप्ती लोकमार्गअन्तर्गत सल्यानको खारकोलामा गएको पहिरोमा परी त्रिवेणी गाउँपालिकाका युवा मदन पुनको निधन भएको जनाउँदै तत्काल सडक स्तरोन्नति गरी नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराए।

यसैगरी सांसदहरू राजन गौतम, राजीव खत्री, राधिका रम्तेल, राम लामा, रिङ्गला यादव, रिना उप्रेती, रुकेश रञ्जित, रुक्मणीदेवी कोइराल, रुविना आचार्य, रेखाकुमारी यादव, रेनुका काउचा र माधवबहादुर थापाले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाहीको माग गर्दै भोटेकोशी बाढीमा निधन हुनेप्रति श्रद्धाञ्जली अर्पण गरे, साथै बेपत्ताको खोजी, घाइतेको स्वास्थ्य उपचार र विस्थापितको सुरक्षित पुनःस्थापनामा सरकारको ध्यानाकर्षण गराए।