सर्वदलीय बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा जारी अवरोध एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो । बैठकमा एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् । संसदमा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसद्को एजेन्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ ।
संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसदवाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन ।
सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।
