अष्ट्रेलियाका क्रिकेटर शेन वार्नको निधन

maitrinews

 

काठमाडौं । अष्ट्रेलिया क्रिकेट लिजेन्ड शेन वार्न बितेका छन् । स्पिन बलिङका जादूगर वार्नको हृदयाघातका कारण निधन भएको हो ।
सर्वाधिक चर्चित सदावहार लेग स्पिनर वार्नको ५२ वर्षको उमेरमै निधन भएको हो । उनको व्यवस्थापन टिमले छोटो स्टेटमेन्ट जारी गर्दै उनको थाइल्याण्डको कोह सामुईमा शंकास्पद हृदयाघातका कारण निधन भएको जनाएको हो ।

उनको परिवारले हाललाई गोपनीयता चाहेको भन्दै पछि विस्तृत विवरण दिने जनाएको अष्ट्रेलियाबाट संचालित फक्सस्पोर्टस् अनलाइनले जनाएको छ ।

अष्ट्रेलियाका लागि २४ घण्टाभित्र दोस्रो झड्का हो । शुक्रबार बिहान मात्रै पूर्व क्रिकेटर रोड मार्सको हृदयाघातकै कारण निधन भएको थियो ।

वार्नले बिहान मात्रै मार्सको निधनका बारेमा ट्वीटरमा लेखेका थिए । तर साँझ उनी नै रहेनन् ।