स्वस्थ खानपानले जोगिन्छ मिर्गौला

काठमाडौँ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग लाग्नै नदिनका लागि समय समयमा मिर्गौला परीक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौला रोगबारे थाहा हुने जानकारी दिँदै एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिनुभयो । उहाँले खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको बताउनुभयो ।

मिर्गौला रोग विशेषज्ञ डा। ऋषि काफ्लेले मिर्गौला बचाउनका लागि बिहान उठेर एक गिलास पानी पिउन सुझाव दिनुभयो । उहाँले निश्चित समयभित्र मिर्गौला परीक्षण गर्न पनि सुझाव दिनुभयो । डा। काफ्लेका अनुसार, नेपालमा प्रत्येक १० जनामध्ये एक जना व्यक्तिलाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ । नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडायलासिस सेवा सुरु भएको थियो । आज विश्व मिर्गौला दिवस मनाइँदैछ । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।