भारतबाट महँगो बिजुली किन्दै सरकार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने भएको छ । शुक्रबारदेखि भारतसँग उच्च मुल्यमा विजुली खरिद गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । बिहीबार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने सम्झौता भएको उनले जानकारी दिनुभयो ।
प्राधिकरणले बिजुली नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएपछि नेपालले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको हो । ‘हामीले २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं’ उहाँदृ भन्नुभयो । नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनिरहेको थियो ।
घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिने बताउनुभयो । यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
