प्रधानमन्त्री देउवा भारत जाँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिण छिमेकी भारतको तीनदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाले पहिलो औपचारिक भ्रमण चैत १८ देखि २० सम्म गर्नुहुनेछ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवाले भारत भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साताभित्रै देउवा भारत प्रस्थान गर्न लाग्नुभएको हो । भारत भ्रमणको गृहकार्य बालुवाटार र परराष्ट्र मन्त्रालयले सुरु गरिसकेका छन् ।
देउवा र मोदीबीच गत पुस २५–२८ मा गुजरातको गान्धीनगरमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भेटवार्ता हुने कार्यक्रम थियो । तर कोभिड–१९ महामारी फैलिएका कारणले उक्त भ्रमण स्थगित भएको थियो ।
