छ लेनको सडक ठप्प
काठमाडौँ । माइतीघर–भक्तपुर छ लेन सडकको उत्तरतर्फको सेवा लाइनमा जडीबुटी चोकको पश्चिम–उत्तरमा त्रिपालले छोपेर राखेको एउटा घर छ । पूर्व र पश्चिम सडक विस्तार भइसक्दा पनि हुँदा उक्त घरकै कारण सो सडकखण्ड विस्तार रोकिएको छ ।
उक्त सडकखण्डको काम सकिएर यातायात सुचारु हुने अवस्था रहे पनि सो ठाउँमा भने खन्ने काम पनि भएको छैन । सडकबीचमा जीर्ण घरलाई त्रिपाल ओढाएर राखिएको छ । सोही सडकखण्ड भएर दैनिक एक लाखभन्दा बढी यात्रु तथा हजारौँ सवारीसाधन आवतजावत गर्छन् । कार्यालय समयमा सबैभन्दा बढी जाम हुने र अधिकांश समय लामबद्ध सवारी चापका कारण आउजाउ ठप्प हुने यो सडकखण्ड प्रयोग गर्न प्रायः सवारीचालक चाहँदैनन् । तर, भरपर्दो विकल्पसमेत छैन । त्रिपालले छोपेको त्यही कच्ची घरका कारण बाटो विस्तार रोकिँदा यो समस्या सिर्जना भएको हो । उक्त घरको मुआब्जा विवादका कारण सडक विस्तार रोकिँदा धेरै यात्रुले सास्ती भोग्न बाध्य छन् ।
त्रिपालले छोपेको कच्ची घरका कारण बाटो विस्तार रोकिँदा समस्या सिर्जना भएको हो ।
काठमाडौँ महानगरपालिका–३२ माइली खत्रीको नाममा रहेको छ आना एक पैसा जमिनमा बनेको घरमालिक माइली खत्रीको मृत्यु भइसक्यो । उहाँकी ६० वर्षीया छोरी राधा खत्री बोहोराले आमाको नामको जग्गाको हकदाबी गर्दै उचित मुअब्जा र क्षतिपूर्ति माग राख्दै बाटो विस्तारको काम रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले विवादित जग्गाको राजमार्ग विस्तार गर्दा नै मुआब्जा वितरण भएकाले पुनः वितरण गर्न नसकिने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “राजमार्ग विस्तारसम्बन्धी २०२१ को मापदण्डअनुसार मुआब्जा दिई अधिग्रहण गरेको जग्गाबाहेक ०।५२ वर्गमिटर जग्गा र वासस्थानको क्षतिपूर्ति दिई बाटो विस्तार हुन्छ ।” उहाँले घरधनीलाई कसरी पुनस्र्थापित गर्ने भन्नेबारे स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायसँग छलफल भइरहेकोसमेत जानकारी दिनुभयो ।
