अमेरिकामा गर्भपतन अधिकार हटाउने तयारी

 

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको समाचार बाहिरिएको छ । पोलिटिकोले एक गोप्य दस्ताबेजलाई उल्लेख गर्दै गर्भपतन अधिकार स्थापित गर्ने ‘रोयविरुद्ध वेड’ मुद्दाको निर्णय उल्ट्याउन लागेको जनाएको हो ।

सन् १९७३ उक्त निर्णयले अमेरिकामा महिलालाई तीन महिनासम्मको गर्भपतन गर्न पाउने अधिकार दिएको थियो । ९८ पानाको उक्त मस्यौदामा गर्भपतनलाई कानुनी मान्यता दिने निर्णय गलत भएको जनाइएको छ ।
दस्ताबेजमा न्यायाधीश स्यामुयल अलिटोले ‘गर्भपतन अधिकार स्थापित गर्ने सन् १९७३ को निर्णय अत्यन्त गलत’ भएको लेखेका पोलिटिकोले जनाएको छ । सर्वोच्च अदालतले उक्त निर्णयलाई उल्टाएको खण्डमा अमेरिकी राज्यहरू आफैले गर्भपतनलाई गैरकानुनी घोषित गर्न सक्छन् । सर्वोच्चको निर्णयपछि २२ वटा अमेरिकी राज्यमा तत्काल गर्भपतन सम्बन्धी अधिकार हटाइने अपेक्षा गरिएको छ ।

न्यायाधीशहरूले जुन वा जुलाईको सुरुमा यस विषयमा निर्णय सुनाउने ठानिएको छ । गत फेब्रुअरीमा तयार गरिएको पहिलो मस्यौदमा सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरूको मत समावेश गरिएको जनाइएको छ ।

बीबीसीका अनुसार उक्त दस्ताबेज अन्तिम मस्यौदा भएरनभएको भने प्रस्ट छैन । सर्वोच्च अदालत र अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने पोलिटिकोले सार्वजनिक गरेको दस्ताबेजका विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *