पुस्तकमा भीमफेदीमा गाडी बोक्नेहरुको कथा
काठमाडौ : भीमफेदीमा गाडी बोक्नेहरुको कथा ‘छेलिएका अनुहार’ पुस्तकमा आएका छन् ।
नेपालको भूगर्भीय अध्ययन गर्नं ७१/७२ वर्षअघि भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे । मकवानपुरमा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार प्रताप विष्टले यही कथा बोकेको पुस्तक ‘छेलिएका अनुहार’ लिएर आएका छन् ।
विसं २०१३ सम्म नेपालमा मान्छेहरुले गाडी बोक्ने गर्थे । झण्डै ३५ वर्ष नेपालमा गाडीलाई नल कसेर बोक्ने चलन कायम रह्यो । नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलोपटक गाडी ल्याएको इतिहासकारहरु बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ ।
नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शमशेरले जापानबाट गाडी मगाएर नेपालमै त्यसको पुनःनिर्माण र स्तरीकरण गरेको पढ्न पाइन्छ । राजा महाराजा तथा राणाहरुले क्रमशः नेपालमा गाडीहरु भित्र्याएका थिए । विदेशबाट नेपालको वीरगञ्ज, हेटौंडा हुँदै भीमफेदीसम्म मोटरबाटो बाटै गाडी लगिन्थ्यो भने भीफेदीदेखि काठमाडौँसम्म सडक नबनेका कारण मान्छेहरुले नै बोकेर उपत्यका पु¥याउनुपथ्र्यो । त्यस्ता गाडीहरु बोक्न मकवानपुरका बलिया युवाहरुलाई प्रयोग गरिन्थ्यो । गाडी बोक्नेहरुमध्ये कतिले त दुई छाक भातको भरमा पसिना बगाएको र कतिले भने गाडी बोकैरै प्रसस्त जग्गाजमिन समेत जोडेको उनीहरुको जीवनीबाट थाहा पाउन सकिन्छ ।
लामो समय गाडी बोकेर जीवनयापन गर्नेहरुका बारेमा खोजेर मकवानपुरका पत्रकार विष्टले पुस्तक तयार पार्नुभएको हो । मकवानपुरमा मात्र पाइने नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको वनकरिया जाति, सीमान्तकृत चेपाङ जातिसहित गाडी बोकेर जीविकोपार्जन गर्नेहरुको बारेमा समेटेर लेखिएको पुस्तकमा विष्टले उनीहरुको नालीबेली नै प्रस्तुत गर्नुभएको छ ।
वर्षहरु बित्दै गए, त्यस्ता कथा सुनाउने पात्रहरु पनि सकिए । पहिले गाडी बोकेर काठमाडौँ पु¥याइन्थ्यो भन्ने सुनेपछि २०६८ सालदेखि गाडी बोक्नेहरुको खोजी सुरु गरिएको थियो । त्यसरी खोज गर्ने क्रममा जीवित रुपमा चारजना भेटिएका थिए ।
पुस्तकमा उल्लेख भएअनुसार त्यतिबेला गाडी बोक्न पाँच फिटभन्दा बढी अग्लो हुनुपथ्र्यो । गाडी बोक्न गाडीको आकार अनुसार १६ जना, ३२ जना र ४८ जनासम्म प्रयोग हुन्थे । त्यतिखेर ३२, ६४ र ९६ मोडलका गाडी चलनचल्तीमा थिए । बत्तीस मोडलको गाडी बोक्न दुईतिर आठ आठ जना, ६४ को बोक्न १६ ÷१६ जना, ९६ को बोक्न २४÷२४ मानिस चाहिन्थ्यो ।
भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रगिरि हुँदै काठमाडौंँ गाडी बोकेर पु¥याउँदा सात दिनदेखि १६ दिनसम्म लाग्ने गथ्र्यो । गाडी बोके बापत प्रतिव्यक्तिले बढीमा ५ आनासम्म जमीन पाउँथे । भरियाहरुले भीमफेदी, कुलेखानी, चित्लाङ, थानकोट हुँदै काठमाडौंँसम्म गाडी पु¥यानुपथ्र्यो ।
विष्टका अनुसार त्यस बेला गाडी बोक्ने भरियाहरुका कथा चाखलाग्दा छन् । गाडी एसियाकै पहिलो सुरुङ मार्गबाट ल्याइन्थ्यो । सुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ । तर यो कुरा सत्य हो, नेपालमा आजभन्दा १०६ वर्ष अगाडि सुरुङमार्ग बनेको थियो र त्यस सुरुङमार्गबाट गाडीहरु गुडाएर हेटौँडा प्रवेश गराइन्थ्यो ।