६८ स्थानीय तहले ल्याउन सकेनन् बजेट
काठमाडौं : सात वटा प्रदेशका ६८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् ।
संवैधानिक व्यवस्था अनुसार अनिवार्य रूपमा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गर्न नसकेका हुन् ।
आर्थिक वर्ष २०७८/७९ असार १० सम्म बजेट पारित गरेर पेस गरिसक्नुपर्ने व्यबस्था थियो ।
स्थानीय तहहरुले दलीय असहमति, आन्तरिक विवादका साथै स्थानीय तहमा कर्मचारी अभावका कारण बजेट ल्याउन नसकेको बताउदै आएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना सकिन लाग्दा पनि ति तहले बजेट सार्वजनिक गर्न नसकेका हुन् ।
मन्त्रालयका अनुसार देशभर ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । बजेट पेस नगरेका ६८ स्थानीय तहमध्ये मधेश प्रदेशका मात्रै ३९ स्थानीय तह रहेका छन् ।
यस्तै प्रदेश एकमा पाँच, बागमतीमा चार, गण्डकीमा एक, लुम्बिनीमा दश, कर्णालीका चार र सुदुरपश्चिमका पाँचवटा स्थानीय तहले बजेट ल्याएका छैनन् ।