मनोहरा खोलाको बाढीले लाखौ रुपैयाँ क्षति

काठमाडौं : मनोहरा खोलामा आएको बाढीका कारण लाखौ रुपैयाँ क्षति भएको छ ।

बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्यबस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुर्याइनुका साथै ७५ लाख बराबरको क्षति भएको जनाइएको छ ।

सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका छन् ।

यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठ सहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्तीलगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिएका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण सङ्कलन गर्न आग्रह गर्नुभयो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिनुभयो ।

यसबाहेक सुकुम्वारी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडकनै कतै बगाएको र कतै चिरिएर भासिएको उहाँले जानकारी दिनुभयो ।

खोला किनारामा रहेको काठमाडौं तर्फ पाँच घर बगाएको छ । बस्तीमा पानी पसेपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विपद् व्यवस्थापन टोली रातिनै परिचालन भएर बाढीपीडित क्षेत्रमा राहत वितरण तथा उद्धारकार्य गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कार्यालय प्रमुख उमा थापाले रेडक्रसले गरेको क्षति विवरण सङ्कलनमा सुकुम्वासी बस्तीमा पाँच , बस्ती भन्दामाथि ११ गरी १६ घर तथा हटरा भत्किएको, सुकुम्वासी बस्तीको ३०० घर टहरामा क्षति पुगेको, जस्ताले काटेर एकजना घाइते भएको र खानेपानीको अभाव रहेको बताउनुभयो ।

सुकुम्वासी बस्तीभित्र टहरा र एक तले घर भएका करिब ३०० घरमा खाद्यान्न, लत्ताकपडा र सुत्ने ओछ्यानसमेत अभाव भएको जनाउँदै उहाँले रेडक्रसले आज खाद्यान्न, गैर खाद्यान्न सामग्री राहतस्वरुप वितरण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *