कालीगण्डकीका तीन हजार चारसय घरधुरीमा एक घर एक धारा
स्याङ्जा : कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ ।
गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो ।
गाउँपालिकाको प्रमुख समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन हजार चारसय घरधुरीमा एक घर एक धारा जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उहाँले जानकारी दिनुभयो ।
यस पालिकालाई तीनतिरबाट कालीगण्डकी नदीले घेरेर गएकाले पानीका मुहान नदी किनारमा धेरै छन् । नदीभन्दा माथिल्लो भूभाग वा पहाडको उच्च भागमा यहाँका बस्ती रहेकाले पिठ्यँुमै पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको थियो ।
पशुपालन कृषि कार्य सरसफाइलगायतका काममा पानीको अभाव झेलेका यहाँका स्थानीयको जीवनयापन कष्टकर बनेको थियो ।
गाउँपालिकाले रु पन्ध्र करोड ४९ लाख बजेट विनियोजन गरी घरघरमै धारा जडान भई पानी आएसँगै यहाँका स्थानीय बासिन्दा हर्षित बनेका छन् ।
