लमजुङका पहिरो पीडितलाई दसैंमा नयाँ घर

लमजुङ : लमजुङमा बाढीपहिरो पीडितले आगामी दसैंमा नयाँ घर पाउने भएका छन् ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दसैं अगावै सम्पन्न हुने भएकाले दसैंबाट पीडितहरु नयाँ घरमा बस्न पाउने भएका हुन् ।

दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् ।

गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उक्त पीडितमध्ये लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा छ घर निर्माणाधीन छन् ।

त्यस्तै, एक घर बाहुनडाँडामा बन्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि नयाँ घरमा निर्माण तीव्र गतिमा अघि बढिरहेको र दसैंमा नयाँ घरमा उनीहरु बस्न पाउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतिपरिवारका लागि रु सात लाखको लागतमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । विसं २०७७ मा अर्खले गाउँमा पहिरो आएपछि सिङ्गो गाउँ नै विस्थापित भएको थियो ।

सो पहिराले जोखिम बढाउँदै आएपछि विसं २०७५ मा घरमा नबस्न वडा कार्यालयले अनुरोधसमेत गरेको थियो । तर उनीहरुले पहिराको बेवास्ता गर्दै आएपछि विसं २०७७ मा गएको पहिराले गाउँ नै विस्थापित बनाएको थियो ।