दसैंका लागि खाद्य संस्थानले साढे ६ करोडको खसी–बोका ल्याउने

काठमाडौं : यस वर्षको दशैका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले साढे ६ करोडको खसी–बोका र च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीले घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी १, २ दिन अघि काठमाडौं आइपुग्ने गरी खसी–बोकाको खरिद प्रक्रिया अघि बढाएको जनाएको छ ।

यस वर्ष पनि कम्पनीले २ हजार खसी–बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले कुल ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यस वर्ष पनि दसैंका लागि खसी–बोका र च्याङ्ग्रा ल्याउनका लागि खाद्य कम्पनीले तयारी थालिसकेको छ । खसी–बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले योजना पास गरिसकेको छ ।

बोर्डबाट उक्त योजना पास भएपछि कार्यान्वयनमा जाने कम्पनीका निर्देशक श्रीमणि खनालले बताए ।

खाद्यले तत्काल खसी–बोका तथा च्याङ्ग्राको खरिद गरिनेछैन तर तयारी स्वरूपबजारमा खसी–बोकाको खोजी गर्न र मोलमोलाइ हेर्न सम्बन्धित क्षेत्रका कर्मचारीहरूलाई अह्राइ सकेको खनालले बताए ।

यसपटक पनि कम्पनीले खसी–बोका पश्चिम नेपालको दाङ, तुलसीपुर, लहान, लगायत नेपालगञ्ज र केही हेटौंडाबाट समेत खरिद गर्ने तयारी गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाटै ल्याउने तयारी कम्पनीको छ ।

‘च्याङ्ग्राको मूल्य बढेको छ । फेरि मुस्ताङबाट काठमाडौंसम्म ल्याउनुपर्ने हुँदा ढुवानी खर्च समेत बढ्ने हुँदा केही महँगो पर्ने हो की भन्ने हामीलाई लागेको छ । तैपनि यस वर्ष खसी–बोकासहित च्याङ्‍ग्रा पनि ल्याउँछौं’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले बताइन् । गत वर्ष कोरोना महामारीकाबीच आंशिक प्रभावका कारण खाद्यले च्याङ्‍ग्रा ल्याउन सकेको थिएन ।