नेपालको रेल सेवा: आम्दानी ८ करोड, खर्च ५० करोड
धनुषा : भारतको जयनगरदेखि नेपालको धनुषा कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवाले वार्षिक रु. आठ करोड आम्दानी गरे पनि खर्च भने वार्षिक रु. ५० करोड जति हुँदै आएको बुझिएको छ ।
जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको यो रेलबाट दैनिक रु. दुई लाख पाँच हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल रेलवे कम्पनीका अनुसार रेल सञ्चालनको लागि आवश्यक जनशक्ति र साधन नेपाल आफैसँग नभएका कारण भारतप्रति निर्भर हुनुपर्ने बाध्यता रहेको छ ।
कम्पनीका अनुसार उक्त रेलको नियमित धुलाई गर्ने कामको लागि मात्रै वार्षिक रु. पाँच करोड खर्च गर्दै आइरहेको छ ।
कम्पनीको आफ्नै वासिङ सेन्टर नभएको कारणले भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रहेको छ ।
त्यति मात्रै होइन, नेपालमा फ्युल सेन्टर नभएको कारणले रेलमा फ्युल भर्ने काम समेत भारतमै गएर गर्नुपर्ने बाध्यता रहेको छ । भारतमा फ्युल भर्दा कम्पनीले २८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।
जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।
नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा रेल चलाउने चालक समेत अहिले भारतबाटै ल्याउनु पर्ने बाध्यता रहेको छ । अहिले यो नेपाली रेल भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ ।
रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाका अनुसार नेपाल रेल्वे कम्पनीमा अहिले २६ जना भारतीय कर्मचारी कार्यरत छन् । भारतीय कर्मचारीको तलब, रेलको मेन्टीनेन्स, सामान खरिद लगायत कामका लागि नेपालले वार्षिक ४८ करोड रुपैयाँ भारतीय रेल्वे कम्पनीलाई तिरिहेको छ ।
रेल चलाउने आफ्नै चालक नेपालसँग छैन, त्यसैलै भारतीय चालकले नै रेल चलाउँदै आएको छ त्यसबापत उनीहरुलाई मासिक रु १८ लाख तलब दिनुपर्ने स्थिति रहेको छ ।
रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौताअनुसार भारतीय रेलवे कम्पनीलाई रु. ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताउनुभयो ।
गत २०७८ चैत १९ गते नेपाल र भारतका प्रधानमन्त्रीहरुले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । त्यसयता दैनिक निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्दै आएको कम्पनीका इञ्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काे रेल छुट्ने गरेको छ । रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेकाले स्थानीय व्यापारी एवं सर्वसाधारण भने रेल सेवाबाट खसी नै छन् ।
नेपालले उक्त रेलका डिब्बाहरु प्नि भारतबाटै खरिद गरेको थियो । ती डिब्बाहरु करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन ।
कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु. ९० भाडादर तोकिएको छ ।
