‘नानीचायाः’को दिन यसपाली उपमेयर डंगोलको नेतृत्वमा कुमारीको रथ तान्ने तयारी

काठमाडौँ । इन्द्रजात्राको अन्तिम दिन महिलाले मात्रै रथ तानेर मनाइने कुमारी रथयात्राको तयारी शुरु भएको छ । यसका लागि आज काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा काठमाडौंको नेपाः ब्यांक्वेटमा महिला भेला आयोजना गरी तयारीबारे छलफल भएको छ ।

इन्द्रजात्राको अन्तिम दिन रथ तानिने पर्वलाई ‘नानीचायाः’ भनिन्छ । उक्त दिन काठमाडौंको माथिल्लो भेगमा आधा क्षेत्र मात्रै रथ तान्ने गरिन्छ ।

कुमारीको रथयात्रा आरम्भ गर्ने राजा जयस्थिति मल्लले काठमाडौंको किलागल टोलमा बस्ने नानी भनिने आफ्नी प्रियसीलाई नजर गराउन रथयात्रा नै एक दिन लम्बाएर उक्त पर्व चलाएको हुनाले यसको नाम ‘नानीचायाः’ रहन गएको जनश्रुति पाइन्छ ।

महिलाका नाममा पर्व चलाएको हुनाले उक्त दिन महिलाले मात्रै रथ तान्ने केही बर्ष अघि देखि मात्र नयाँ चलन शुरु भएको हो । केही वर्ष अघिदेखि नानीचा याःका दिन श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ महिलाले मात्रै तान्ने चलन गरिएको थियो ।

महिला भेला आयोजक समूहकी सदस्य नानीहीरा महर्जनका अनुसार नानीचा याःका दिन व्यवस्थित ढंगले रथयात्रा चलाउन सोही एकदिन मात्रै लागू हुने छुट्टै नियम पनि बनाइनेछ । रथयात्राका दिन कस्तो पोशाक लगाउने, कस्तो व्यवहार गर्ने, कसरी रथ तान्ने भन्ने कुराहरु त्यसमा उल्लेख गरिएको हुन्छ ।

यस वर्ष आउँदो भाद्र २९ गतेका दिन नानीचायाः गरिने छ । उक्त दिन काठमाडौंको प्याफल, नरदेवी हुँदै किलागल, इन्द्रचोकमा रथ परिक्रमा गरी बसन्तपुरमा समापन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *