भुटानी पर्यटकको रोजाइमा नेपाल : चार महिनामै एक हजारभन्दा बढीको आगमन

काठमाडौँ, मंसिर १२ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सहज यातायात पहुँचका कारण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । धार्मिक तीर्थयात्रा र घुमफिरका लागि भुटानी नागरिकको नेपाल आगमन पछिल्लो समय बढ्दै गएको हो । भुटानी पर्यटक विशेषगरी पूर्वी नाका काँकडभिट्टा र काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने गरेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा उक्त नाका हुँदै एक हजार १६ जना भुटानी पर्यटक नेपाल भित्रिएका छन् ।

सो अवधिमा काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका चार हजार ४१५ विदेशी पर्यटकमध्ये भुटानी नागरिकको सङ्ख्या उल्लेख्य रहेको छ । कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार कोभिड–१९ महामारीको प्रभाव कम भएसँगै पूर्वी नाकाबाट नेपाल आउने भुटानी पर्यटकको सङ्ख्यामा निरन्तर सुधार भइरहेको छ ।

काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकमध्ये भुटानी नागरिक सबैभन्दा बढी छन् । यस नाकाबाट भित्रिने कुल विदेशी पर्यटकमध्ये आधाभन्दा बढी भुटानी नागरिक हुने गरेका छन् ।

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार २२६ भुटानी पर्यटक काँकडभिट्टा नाका हुँदै नेपाल आएका थिए । गत आर्थिक वर्ष २०८२/८३ मा उक्त नाकाबाट प्रवेश गरेका नौ हजार ४४७ विदेशी पर्यटकमध्ये चार हजार ४४७ जना भुटानी नागरिक थिए ।

भुटानको दक्षिणी व्यापारिक नाका फुन्छोलिङ र नेपालको पूर्वी प्रवेशद्वार काँकडभिट्टाबीचको भौगोलिक निकटता तथा सहज यातायात पहुँचका कारण भुटानी पर्यटक स्थलमार्ग हुँदै नेपाल आउन रुचाउने गरेका छन् । विशेषगरी असोजदेखि फागुनसम्मको समय उनीहरूका लागि नेपाल भ्रमणको उपयुक्त अवधि मानिन्छ ।

शान्त वातावरण, हिमाली दृश्यावलोकन, पदयात्रा र बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्रको दर्शनका लागि भुटानी पर्यटक नेपाल आउने गरेका छन् । नेपाल भ्रमणका क्रममा उनीहरूको प्रमुख गन्तव्य काठमाडौँ, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय नगरी पोखरा बन्ने गरेका छन् ।

स्थलमार्गसँगै हवाईमार्गबाट पनि उल्लेख्य सङ्ख्यामा भुटानी पर्यटक नेपाल आउने गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा नेपाल आएका कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकमध्ये ३६ हजार २८९ जना भुटानी नागरिक थिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाट नेपाल आउने पर्यटकमध्ये भारत पहिलो र बङ्गलादेश दोस्रो स्थानमा छन् । भुटान पनि नेपालको पर्यटन बजारमा महत्वपूर्ण पर्यटक स्रोतका रूपमा रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *