विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

काठमाडौँ, मंसिर १२ । जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन यहाँबाट आज एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ । त्रेतायुगमा राम  सीताको विवाहसँग जोडिएको पौराणिक परम्परालाई निरन्तरता दिने उद्देश्यले टोली अयोध्या गएको हो ।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या प्रस्थान गरेको हो ।

टोलीले अयोध्या पुगेर विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भगवान् श्रीरामको जन्मभूमिका बासिन्दा तथा धार्मिक अगुवालाई औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । उहाँका अनुसार निमन्त्रणासँगै जनकपुरधाममा आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमबारे पनि जानकारी गराइनेछ ।

जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो । राम–सीताको वैवाहिक सम्बन्धसँग जोडिएका दुई पवित्रस्थलबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन निमन्त्रणा टोली अयोध्या प्रस्थान गरेको उहाँले उल्लेख गर्नुभयो ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको पौराणिक मान्यतासँग जोडिएको परम्परालाई पुनःजीवन्त बनाउने उद्देश्यले टोली अयोध्या गएको हो ।

टोलीले विवाहपञ्चमी महोत्सवको निमन्त्रणासँगै फलफूल, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ । मिथिलाको वैवाहिक संस्कारमा बेहुलापक्षलाई सम्मानस्वरूप भार तथा उपहार पठाउने परम्परा रहिआएको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन रामसीताको विवाहको स्मरणमा सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । महोत्सवका क्रममा रामसीताको स्वयंवर, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवालगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन् ।

महोत्सवमा नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन् । विशेषगरी अयोध्याबाट जन्ती आउने र जनकपुरधाममा मिथिलाको परम्पराअनुसार स्वागत गरी विवाह उत्सव मनाउने चलनले यस महोत्सवलाई विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *