किसानले माछा, गङ्गटो र घोंगीबाट मनग्ये आम्दानी लिंदै
कैलाली : कैलालीको भजनी नगरपालिकाका किसानहरुले माछा, गङ्गटो र घोंगी बिक्री गरेर मनग्गे आम्दानी लिन थालेका छन् ।
भजनी नगरपालिका –३ का स्थानीयहरुले माछा, गङ्गटो, घोंगी मारेर बिक्री गरी त्यसबाट भएको आम्दानीले घर खर्च चलाउने गरेको हो ।
स्थानीयहरु प्रायः दिनभर माछा, गङ्गटो, घोंगीको खोजी गरेर त्यसबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ ।
वर्षाको समयमा बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हाल्ने गरिएको पाइएको छ ।
माछासंगै थारुहरुले झिङ्गे माछा पनि मारेर ल्याउने र तरकारीको रुपमा प्रयोग गर्दै आएका छन् । झिङ्गे माछा बढी भएकाबेला सुकाएर हिउँदको महिनामा राम्रो मूल्यमा विक्री गरि फाइदा लिन सकिने स्थानीय बताउँछन् ।
वर्षाका समयमा पुरुष मात्रै नभएर थारु महिलाहरु पनि माछा मार्ने जाल लिएर खोला तथा पोखरीमा व्यस्त रहने गर्दछन् । फोहोर पानीमा दिनभर रहँदा जोखिम भए पनि घरपरिवार चलाउनका निम्ति स्थानीयहरु व्यस्त रहन्छन् ।
बजारमा अहिले घोंगी प्रतिकेजी रु एक सयमा बिक्री हुने र झिङ्गे माछा प्रतिकेजी रु पाँच सयमा बिक्री हुन्छ ।