कोरलानाकाबाट चार महिनामै भित्रिए सात हजार इभी
मुस्ताङ, ६ मङ्सिर । नेपाल–चीन सीमा कोरलानाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्षभरिमा तीन हजार २२३ इभी भित्रिएकोमा यस वर्ष छोटो अवधिमै सात हजार पुगेको हो । रसुवागढी नाका भोटेकोसीको बाढीका कारण बन्द भएपछि कोरलानाकाबाट आयात बढेको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिनुभयो ।
साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ इभी आयात भएका हुन् । यद्यपि, जोखिमपूर्ण सडक र दक्ष चालकको अभावका कारण भन्सार जाँचपास भएका दर्जनौँ सवारीसाधन गन्तव्यसम्म पुग्न सकेका छैनन् ।
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक लक्ष्य नौ अर्ब रुपैयाँ रहेकोमा चार महिनामै तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व उठेको हो ।
