तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर, ५ मङ्सिर । रु ५०० को लगानीमा एक कट्ठा जग्गाबाट सुरु गरेको तरकारीखेतीले कञ्चनपुरका एक किसानको जीवन नै फेरिदिएको छ । भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का आज तीन बिघा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै वार्षिक रु २५ लाखसम्म खुद आम्दानी गर्न सफल भएका छन् ।

एक दशकअघि सानो पैमानामा सुरु भएको उनको खेती पहिलो पटकमै उत्साहजनक बन्यो । पहिलो उत्पादन बिक्री गर्दा रु १० हजार आम्दानी भएपछि उनले खेतीको दायरा बढाउँदै लगे । विसं २०७२ देखि उनले तरकारीखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । धान र गहुँको तुलनामा तरकारीमा तीन गुणासम्म बढी फाइदा हुने देखेपछि आफू यस पेसामा लागेको उनको भनाइ छ ।

कोरोना महामारीले उनको खेतीलाई नयाँ मोड दियो । “एक कट्ठाबाट सुरु गरेको खेती बिस्तारै बढाउँदै थिएँ, त्यही बेला कोरोना महामारी आयो,” खड्का सम्झन्छन्, “रोजगारीका लागि भारतमा रहेका दुई छोरा घर फर्किए । त्यसपछि हामीले खेती अझ बढायौँ ।” सङ्कटले फर्काएका छोराहरू नै अहिले खेतीका सहयोगी बनेका छन् ।

तरकारीखेतीको आम्दानीले उनको परिवारको आर्थिक अवस्थामा उल्लेखनीय परिवर्तन ल्याएको छ । घरखर्च र छोराछोरीको पठनपाठन यसैबाट चलेको छ । “सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको छ,” उनले भने, “यसैको आम्दानीले रु २० लाख लगानी गरेर एक छोरालाई विदेश पठाएँ, घर पनि बनाएँ ।” पहिले साइकलमा तरकारी बजार पुर्‍याउने उनीसँग अहिले तीनवटा मोटरसाइकल छन् भने ५० प्रतिशत अनुदानमा खरिद गरेको अटोरिक्सा पनि थपिएको छ ।

उनको फार्मले अरूका लागि पनि रोजगारी सिर्जना गरेको छ । दुई जनालाई मासिक रु १५ हजार तलबमा राखिएको छ भने ज्यालादारीमा वर्षभरिमा करिब १०० जनाले काम पाउने गरेका छन् ।

खड्काले काउली, बन्दा, ब्रोकाउली, आलु, प्याज, भन्टा र खुर्सानीलगायत तरकारी उत्पादन गर्दै आएका छन् । बजारको समस्या नभए पनि मूल्यमा भने किसान पीडित छन् । खुला सीमानाकाका कारण भारतबाट आउने तरकारीले स्थानीय उत्पादनले उचित मूल्य नपाउने गुनासो उनको छ । “भारतबाट आयात हुने सागसब्जीका कारण हामीले उत्पादन गरेको तरकारीको सोचेजस्तो मूल्य पाइँदैन,” उनले भने, “हाम्रो लागत बढी हुन्छ, तर सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।”

यस्तो चुनौतीका बीच उनले अफ सिजनको खेतीलाई समाधानका रूपमा देखेका छन् । “सिजनमा भन्दा अफ सिजनमा तरकारी फलाउन सके पर्याप्त आम्दानी हुन्छ,” उनी भन्छन् । साथै, कृषिमा जोखिम धेरै हुने भएकाले सरकारले खेतीको बिमा सुविधा उपलब्ध गराइदिए किसानलाई ठूलो राहत मिल्ने उनको अपेक्षा छ ।

साना कदमबाट सुरु भएको वीरबहादुरको यात्राले स्वदेशमै मेहनत र सही योजनासहित काम गर्दा सम्मानजनक आम्दानी सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *