बुटवल र भैरहवाका व्यवसायीलाई गुणस्तरीय बिजुली

भैरहवा : बुटवल र भैरहवा क्षेत्रका उद्योगी व्यवसायीहरुले गुणस्तरीय बिजुली पाउने भएका छन् ।

उद्योगी व्यवसायीहरुको सधैंको गुनासो हुन्थ्यो, गुणस्तरीय बिजुली पाइएन, उद्योग व्यवसाय राम्ररी चलाउन सकिएन । तर अहिले त्यो समस्या समाधान हुने भएको छ ।

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणमा निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन आज उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गर्नुभएको हो ।

प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब दुई सय मेगावाट विद्युत प्रवाह गर्नसक्ने पूर्वाधार तयार भएको छ । साथै भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत् दिने, यातायातमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नुपर्नेमा मन्त्री भुसालको जोड छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माणपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगलाई मागेजति विद्युत् दिन सकिने अवस्था बनेको बताउनुभयो ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र चेम्बर अफ कमर्शका जेपी कँडेलले प्रसारण र सबस्टेसन सञ्चालनपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको उल्लेख गर्नुभयो ।

बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत् आपूर्ति दिइएको आयोजना प्रमुख हरि पाण्डेले बताउनुभयो ।

स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चार वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युतको भोल्टेजको सुधारका लागि दुई वटा क्यापासिटर बैंक राखिएको छ ।

कूल १८ किलोमिटर प्रसारण लाइनमा ५७ टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।